काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको छ। हेटौँडामा दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा उनले आफ्नो ‘विश्वासको मत पाउँ’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
गत साउन २० मा ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई एक हप्ताभित्र नै विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। प्रदेश सभामा ११० सदस्य छन्, जसमध्ये सरकार टिकाउन उनलाई कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ।
चुनौती र कांग्रेसभित्रको विवाद
बानियाँका लागि सबैभन्दा ठूलो चुनौती आफ्नै पार्टीभित्रको आन्तरिक विवाद हो। यसअघि कांग्रेस संसदीय दलका नेता बहादुर लामालाई हटाएर बानियाँ मुख्यमन्त्री बनेका हुन् । त्यसैले, लामा पक्षधर १४ जना सांसदलाई विश्वासमा लिनु उनका लागि अनिवार्य मात्र छैन, चुनौती समेत छ। यदि उनीहरूले मत दिएनन् भने बानियाँको सरकार एक हप्तामै ढल्न सक्छ।
अहिले असन्तुष्ट सांसदहरूलाई मनाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवाले लिएका छन्। स्रोतका अनुसार, देउवाको निर्देशनपछि लामा पक्षधर सांसदले पनि मत दिने विश्वास बानियाँलाई छ।
कानुनी रूपमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त भएका मुख्यमन्त्रीले कम्तीमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। तर बानियाँले भने नियुक्त भएको ७ दिनभित्रै यो प्रयास गरेका हुन्।

