काठमाडौँ, भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओली भारतको औपचारिक भ्रमणमा जानुभन्दा अघि चीन जानुहुने भएको छ। भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो प्राप्त भए पनि भ्रमणको मिति तय नभएको अवस्थामा ओली चीनतर्फ प्रस्थान गर्न लाग्नुभएको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सिंहदरबारमा मन्त्रीपरिषद्को भदौ २ गतेको बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सो जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री ओली चीनमा आयोजना हुने एक महत्त्वपूर्ण बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ।
भारत भ्रमणको विषयमा पत्रकारले गरेको प्रश्नमा मन्त्री गुरुङले भारतले दिएको निम्तोलाई सरकार सकारात्मक रूपमा लिएको तर भ्रमणको ठ्याक्कै मिति भने अझै निश्चित नभएको स्पष्ट पार्नुभयो।

