काठमाडौं, भदौ २३ – काठमाडौंको नयाँबानेश्वर केन्द्रित जेन-जी पुस्ताको प्रदर्शन हिंसात्मक मोड लिँदा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरूले ज्यान गुमाएका हुन्।
मन्त्रालयले दिएको तथ्यांकअनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
ट्रमा सेन्टरमा मात्रै १० जना गम्भीर अवस्थामा उपचाररत रहेको जानकारी दिइएको छ। ती घाइतेहरूको टाउको र छातीमा गोली लागेको ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेले बताएका छन्।
त्यस्तै, सिभिल अस्पतालमा उपचाररत घाइतेहरूको घाँटी, छाती, पेट र तिघ्रामा गोली लागेको अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. शुशिल शर्माले जानकारी दिएका छन्।
सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको झडप तीव्र बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको हो। अहिले राजधानीको प्रमुख क्षेत्रमा तनाव कायमै रहेको छ भने थप भिडन्त रोक्न सुरक्षाकर्मीको ठूलो संख्यामा परिचालन गरिएको छ।

