काठमाडौं । जेएनजी पुस्ताले आह्वान गरेको सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको अभियानमा भएको प्रहरी दमनप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
पार्टीले आज एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा संलग्न नागरिकमाथि राज्यपक्षबाट भएको बल प्रयोगको कडा भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस क्रममा ज्यान गुमाउनेप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै, घाइते आन्दोलनकारीहरूको उपचार र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”
माओवादी केन्द्रले जेएनजी पुस्ताले उठाएका मागहरू न्यायसंगत र जनपक्षीय रहेको भन्दै तीलाई बेवास्ता नगरी सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । “सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको आवाजलाई जिम्मेवारीपूर्वक सम्बोधन गर्न आवश्यक छ,” विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले नागरिक अधिकार र स्वतन्त्रतामाथि आक्रमण गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै आन्दोलनमा संलग्नहरूमाथि राज्यपक्षले पुनः दमन नगर्न चेतावनी पनि दिएको छ ।

