विराटनगर — नेपालको राजनीतिक इतिहासमा सधैँ महत्त्वपूर्ण स्थान राख्दै आएको विराटनगर फेरि एकपटक चर्चामा आएको छ। देशले पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई पाएसँगै विराटनगरबाट प्रधानमन्त्री बन्ने नेताहरूको संख्या अब छ पुगेको छ। जेनजेड विद्रोहको बलमा सत्ताको बागडोर सम्हाल्न सफल कार्कीले विराटनगरको गौरवलाई नयाँ उचाइमा पुर्याएकी छिन्।
विराटनगरको गौरविलो इतिहासमा पहिलो नाम आउँछ, नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको। उनले २०१६ साल जेठ १३ गतेदेखि २०१७ साल पुस १ गतेसम्म देशको नेतृत्व गर्दै लोकतन्त्र र समाजवादी आदर्शलाई नेपालमा स्थापित गर्ने महत्वपूर्ण योगदान दिएका थिए।
बीपीका दाजु मातृकाप्रसाद कोइरालाले पनि विराटनगरको प्रतिनिधित्व गर्दै दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले। उनको पहिलो कार्यकाल २००८ साल मङ्सिर १ गतेदेखि २००९ साल साउन ३० गतेसम्म र दोस्रो कार्यकाल २०१० साल असार १ गतेदेखि २०११ साल माघ २६ गतेसम्म रह्यो।
त्यसपछि गिरिजाप्रसाद कोइरालाले बहुदलीय लोकतन्त्र पुनर्स्थापनापछि चार पटक प्रधानमन्त्रीको पद सम्हाले। उनको नेतृत्वमा शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको ऐतिहासिक कोसेढुङ्गा पार भयो।
विराटनगरले नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई पनि जन्म दियो। उनले २०५१ साल मङ्सिर १४ देखि २०५२ साल भदौ २६ सम्म देशलाई नेतृत्व गर्दै सामाजिक न्याय र आर्थिक सुधारमा जोड दिएका थिए।
त्यस्तै, पञ्चायतकालमा नगेन्द्रप्रसाद रिजालले दुई पटक प्रधानमन्त्री बनेर विराटनगरको राजनीतिक प्रभावलाई निरन्तरता दिएका थिए।
लामो समयपछि फेरि विराटनगरले एउटा ऐतिहासिक व्यक्तित्वलाई प्रधानमन्त्रीको रूपमा पाएको छ। जेनजेड विद्रोहको माग र समर्थनबाट सत्तामा पुगेकी सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्। उनको नेतृत्वले न केवल मुलुकमा नयाँ अध्याय थपेको छ, बरु विराटनगरको गौरवशाली विरासतलाई पुनः उजागर पनि गरेको छ।

