काठमाडौँ, भदौ ३१ ।
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री रहेका छन् ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, अहिलेको बजेटमै परेका केही योजना तथा कार्यक्रम कटौती गरेर स्रोत व्यवस्थापन गर्न सकिने सम्भावना अध्ययन गर्न कार्यदल खटाइएको हो । “चुनाव र पुनःनिर्माणका लागि केही बजेट चाहिन्छ । त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे कार्यदल अध्ययन गर्दैछ,” पाण्डेयले रासससँग भने ।
नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार पदभार सम्हाल्दै चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा समावेश गरिएका, पूर्वतयारी नभएका तथा टुक्रे कार्यक्रम कटौती गरिने घोषणा गर्नुभएको थियो । उहाँका अनुसार, पूरक बजेट ल्याइने छैन । अहिलेको बजेटमै कटौती गरेर निर्वाचन र पुनःनिर्माणका लागि करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत जुटाउने तयारी गरिएको छ ।

