काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।
मंगलबार पत्रकार सम्मेलनमार्फत “जेनजी आन्दोलन” सम्बन्धी १६ बुँदे विश्लेषण सार्वजनिक गर्दै शर्माले पार्टीको मूल नेतृत्व परिवर्तन अनिवार्य भएको बताए। उनले विगत एक वर्षदेखि नै पार्टी पुनर्निर्माणका लागि नेतृत्व हस्तान्तरण हुनुपर्ने माग उठाउँदै आएका थिए।
शर्माले प्रस्तुत गरेका १६ बुँदामा जेनजी आन्दोलनलाई भ्रष्टाचार र दलालीविरुद्धको सकारात्मक हस्तक्षेपका रूपमा व्याख्या गर्दै त्यसलाई राजनीतिक रूपान्तरणको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ। साथै, दलतन्त्र, नेतातन्त्र र कमिसनतन्त्र अन्त्य गर्दै नयाँ राजनीतिक अभ्यासतर्फ पार्टीले अगाडि बढ्नुपर्ने धारणा उनले राखेका छन्।
मुख्य १६ बुँदामा पार्टीभित्र र बाहिर दुवै क्षेत्रमा सुधारका लागि ठोस सुझावहरू समावेश गरिएका छन्। तीमध्ये प्रमुख बुँदामा—
पार्टी अध्यक्षले तत्काल राजीनामा दिनुपर्ने,
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउनुपर्ने,
सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने,
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माण गर्नुपर्ने,
शहीद, बेपत्ता परिवार र घाइते योद्धाको संरक्षण गर्नुपर्ने,
श्रम र उत्पादनमा आधारित स्वरोजगार अभियान सञ्चालन गर्नुपर्ने,
जस्ता मागहरू रहेका छन्।
शर्माले पार्टीभित्र नेतृत्व निर्वाचन प्रणालीलाई प्रत्यक्ष निर्वाचित मोडेलमा लैजानुपर्ने र पदावधि तथा कार्यकालबारे स्पष्ट नीति बनाउनुपर्ने आवश्यकता पनि औंल्याए।
उनले जेनजी आन्दोलनलाई ‘देशलाई नयाँ बाटोतर्फ धकेल्ने शक्ति’का रूपमा व्याख्या गर्दै पार्टी नेतृत्वले त्यसलाई आत्मसात् नगरे आन्दोलनले देखाएको दिशा बेकार जाने चेतावनी दिए।