काठमाडौं । बेलायतका प्रधानमन्त्री कीयर स्टारमर आइतबार प्यालेस्टाइनलाई आधिकारिकरूपमा देशको मान्यता दिने घोषणा गर्ने तयारीमा छन्। यसलाई बेलायतको विदेश नीतिमा दीर्घकालीन प्रभाव पार्ने ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
बीबीसीका अनुसार, बेलायतले यसअघि नै इजरायललाई गाजामा युद्धबिराम गर्न र दुवै पक्षबीच समाधान खोज्न दबाब दिएको थियो। तर त्यो नपुगेपछि बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने चेतावनी दिएको थियो।
प्रधानमन्त्री स्टारमरले गाजाको भयावह मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै भोकमरी र हिंसाले मात्र बाँकी रहेको अवस्थालाई असह्य बताएका छन्। उनले भनेका छन्, “दिगो शान्ति सम्झौताका लागि यो कदम आवश्यक छ, यो नैतिक जिम्मेवारी पनि हो।”
यद्यपि, इजरायल, हमासद्वारा बन्धक बनाइएका व्यक्तिका परिवार तथा बेलायतकै कन्जभेर्टिभ पार्टीका नेताले यो तयारीको कडा आलोचना गरेका छन्। तर सरकारका मन्त्रीहरूले भने स्थायी शान्ति र न्यायको आधार बनाउन यस्तो निर्णय अपरिहार्य भएको बताएका छन्।
यसअघि पोर्चुगलले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइसकेको छ।