काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आज नेपालले घरेलु टोली ओमानको सामना गर्दैछ।
नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने यो महत्त्वपूर्ण खेलमा ओमानलाई पराजित गर्न सके नेपालको टी-२० विश्वकप यात्रा लगभग सुनिश्चित हुनेछ भने टोली उपाधिको नजिक पनि पुग्नेछ। नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्ने अभियानमा छ।
अहिलेसम्म अपराजित रहेका यी दुई उत्कृष्ट टोलीबीचको आजको भिडन्तले कसैको एकको यात्रामा पूर्णविराम लगाउनेछ। अहिले ओमान र नेपाल समान ६ अङ्कका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् (ओमान रन रेटमा अगाडि छ)।
ओमानलाई घरेलु मैदान र वातावरणको फाइदा भए पनि अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमीमा नेपाली समर्थकको बाहुल्यता रहने निश्चित छ। यसकारण नेपालले ओमानविरुद्ध खेल्दा पनि ‘होम ग्राउन्ड’ जस्तै अनुभव गर्नेछ।
हेड टु हेडको इतिहासमा नेपाल ओमानभन्दा निकै अगाडि छ। अहिलेसम्म भएका ७ खेलमध्ये नेपालले ५ र ओमानले २ खेल जितेको छ। तर, प्रतियोगितामा ओमानले देखाएको सशक्त लयले गर्दा विगतका नतिजाले आजको खेलमा खासै अर्थ राख्ने छैन।
ओमानले यूएईसँग बाहेक प्रायः खेल सहजै जितेको छ भने नेपालले अधिकांश जितका लागि सङ्घर्ष गरेको छ। तर हारको स्थितिबाट अविश्वसनीय पुनरागमन गर्दै खेलको नतिजा उल्टाउने नेपालको विशेष क्षमताले विश्वभरका क्रिकेट प्रेमीलाई चकित पारेको छ। यूएई र कतारविरुद्ध हारको मुखबाट जित निकाल्दा अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा नेपाली टोलीको चर्चा चुलिएको छ।
नेपालको सफलतामा हरेक पटक फरक-फरक खेलाडी नायक बन्ने गरेका छन्। आजको खेलमा स्टार लेग स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, कप्तान रोहित पौडेल, गुल्सन झा र आसिफ शेखबाट विशेष प्रदर्शनको अपेक्षा गरिएको छ। कतारविरुद्धको पछिल्लो जितमा सन्दीपले ५ विकेट लिएर मुख्य भूमिका निभाएका थिए।
यस प्रतियोगितामा बलिङ र फिल्डिङमा नेपालको प्रदर्शन तारिफयोग्य छ। यद्यपि, ब्याटिङ अझै कमजोर देखिन्छ। कमजोर स्ट्राइक रेट र मिडल ओभरमा सुस्त रन गति नेपालको मुख्य समस्याका रूपमा रहेको छ। वेस्ट इन्डिजविरुद्धको शृङ्खला जितेर आत्मविश्वासका साथ ओमान पुगेको नेपाली टोली यी समस्यालाई सुधार्दै आजको खेल जित्नेमा विश्वस्त छ।
सुपर सिक्सको अन्तिम खेलमा नेपालले शुक्रबार सामोआसँग खेल्ने तालिका रहेको छ।