काठमाण्डाै महानगरपालिकाले विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाण्डाै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको काठमाण्डाै महनगरका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘काठमाण्डाै उपत्यकाका अन्य पालिकाजस्तो महानगर होइन, यहाँ विद्यार्थीको सङ्ख्या धेरै छ, उनीहरूलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।’
विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस सङ्क्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुअघि छलफल गर्नुपर्छ, उहाँले भन्नुभयो ।
काठमाण्डाै महानगरमा रहेका ९१ सामुदायिक र पाँच सय ४१ संस्थागत विद्यालय सञ्चालनमा छ । सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थीले पठनपाठन गर्दछन् । सामुदायिक विद्यालयमा एक हजार सात सय ९१ शिक्षक कार्यरत छन् ।
कोभिड–१९ को दोस्रो लहर आएको जनाउँदै सरकारले गएकाे वैशाख १६ गतेदेखि दोस्रो पटक लकडाउन गर्दा देशका सम्पूर्ण विद्यालय बन्द भएको थियो ।

