नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हाल्नुभएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्ममा १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव चार प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
मन्त्रालयको तथ्याङ्कअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, ‘जे एण्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप भित्र्याइएको छ । यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रुपमा अघि बढाएको छ । छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिनुभएको छ ।

