काठमाडौँ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले आतबारदेखि निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन सुरु गरेका छन्।
निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन राजनीतिक दलले बन्दसूची पेश गरेका छन्।
ती दलहरूले जम्मा १३४ जनाको बन्दसूची आयोगमा बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार आइतबार र सोमबार दुई दिन बन्दसूची पेश गर्ने समय तोकिएको छ।
आयोगले समानुपातिकतर्फको बन्दसूची पेश गर्ने प्रक्रिया दुई चरणमा अघि बढाइरहेको छ।
पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको नाम मतदाता नामावलीमा समावेश छ वा छैन भन्ने यकिन गरी निस्सा उपलब्ध गराइने प्रवक्ता भट्टराईले बताए। निस्सा प्राप्त भएपछि मात्र बन्दसूची दर्ता गरिने आयोगको भनाइ छ।
बन्दसूची पेश गर्ने कार्यलाई सहज बनाउन आवश्यक सबै स्रोतसाधनको प्रबन्ध मिलाइएको पनि आयोगले जनाएको छ।

