काठमाण्डौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ। पार्टीका अनुसार फजरको प्रार्थनापछि बिहान ६ बजे ढाकामा उनको मृत्यु भएको हो।
लामो समयदेखि कमजोर स्वास्थ्य, कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहेकी जियाको निधनले बंगलादेशी राजनीतिमा ठूलो शून्यता सिर्जना गरेको छ। खराब स्वास्थ्यका बाबजुद उनले फेब्रुअरी २०२६ मा तय आम निर्वाचनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
नोभेम्बरको अन्त्यतिर स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएकी जियाको निधन हुनुअघि सोमबार मात्रै तीन निर्वाचन क्षेत्रबाट उनको नाममा उम्मेदवारी दर्ता गरिएको थियो, जसले अन्तिम क्षणसम्म उनको राजनीतिक दृढता झल्काएको बिएनपीले जनाएको छ।

