दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र दाङ–२ का लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेका इन्जिनियर प्रतिक अधिकारी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
घोराहीमा आयोजित पत्रकार सम्मेलनमार्फत अधिकारीले औपचारिक रूपमा नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन्।
प्रलोपाले मंगलबार अधिकारीको उम्मेदवारी निष्क्रिय गर्दै शंकर पोखरेल नेतृत्वको नेकपा (एमाले)का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि अधिकारीले पार्टी परित्याग गरेका हुन्।
अधिकारीलाई दाङ–२ का नेकपा उम्मेदवार निर्मल आचार्य र समानुपातिक उम्मेदवार भिमकुमारी बुढाले स्वागत गरेका थिए।
प्रलोपाले भने एमालेसँग भएको सहमतिअनुसार दाङमा एमाले उम्मेदवारलाई सघाउन पार्टीको उम्मेदवारी निष्क्रिय गरिएको बताएको छ। पार्टीका जिल्ला संयोजक घनश्याम डाँगीका अनुसार कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा पारस्परिक समर्थन गर्ने सहमतिअनुसार दाङका तीनवटै क्षेत्रमा प्रलोपाका प्रत्यक्ष उम्मेदवार नउभ्याइएको हो।
उनले दाङका सबै क्षेत्रमा एमाले उम्मेदवारलाई मतदान गर्ने पार्टीको निर्णय भएको जानकारी दिए।

