काठमाडौं । ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ। सबैभन्दा ठूलो क्षति जुइज दि फोरामा भएको छ, जहाँ १८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। यस्तै उबामा ७ जनाको ज्यान गएको स्थानीय प्रशासनले जनाएको छ।
रातिको समयमा घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका छन्। उद्धारकर्मी र स्थानीय बासिन्दा भग्नावशेष तथा हिलो हटाउँदै हराइरहेकाहरूको खोजीमा जुटिरहेका छन्। घटनाबारे बीबीसीले पनि उद्धार कार्य तीव्र रूपमा जारी रहेको जनाएको छ।
घटनाप्रति लुइज इन्सियो लुला दा सिल्भाले गहिरो दुःख व्यक्त गर्दै जुइज दि फोरामा आपत्काल घोषणा गरेका छन्। उनले राहत, उद्धार र पुनर्निर्माणका काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिएका छन्। बाढीपहिरोका कारण जुइज दि फोरामा मात्रै करिब साढे चार सय परिवार घरबारविहीन भएका छन्।
नगरकी मेयर मार्गारिदा सालोमाओले घटनालाई आफ्नो पाँच वर्षे कार्यकालकै सबैभन्दा दुःखद क्षण भन्दै शहरभर तीन दिन शोक मनाउने घोषणा गरेकी छन् ।

