काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरेको छ।
मतदानमा उत्साहजनक सहभागिता बढाउने उद्देश्यले आयोगले मतदानको अघिल्लो दिन, मतदानको दिन र त्यसको भोलिपल्टसमेत गरी तीन दिन बिदा दिन प्रस्ताव गरेको हो। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार मतदातालाई मतदानस्थलसम्म सहज पहुँच दिलाउन यस्तो सिफारिस गरिएको हो।
फागुन १८ गते पहाडी जिल्ला र फागुन १९ गते तराईका जिल्लामा फागु पूर्णिमा (होली) पर्वको सार्वजनिक बिदा परेको छ।
त्यसपछि थप तीन दिन बिदा दिँदा विभिन्न पेसा र व्यवसायका कारण मतदाता नामावली भएको स्थानभन्दा टाढा रहेका नागरिकलाई मतदानका लागि यात्रा गर्न सहज हुने विश्वास आयोगको छ।

