काठमाडौं: ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत लिपानिबिर्ता स्वास्थ्य चौकी – परवानीपुर, हेटौडा अस्पताल-हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी-फापरबारी, चन्द्रनिगाहपुर अस्पताल- चन्द्रनिगाहपुर र इनरुवा अस्पताल( सुनसरी गरि ५ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ।
बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट लिपानिबिर्ता स्वास्थ्य चौकी, हेटौडा अस्पताल, बेतिनी स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पतालका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबीवार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नकोलागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएकोछ। बैंकले १३ औंवार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा ‘न्यानो नानी’ बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यकालागि सो केन्द्रको “न्यानोनानी” परियोजना – २ को लागि सहयोग प्रदान गरेको थियो।

बैंकले यस अघि पनि राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल – कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल- नवलपुर, महाकाली अञ्चल अस्पताल -कञ्चनपुर, प्युठान जिल्ला अस्पताल-प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र-महोत्तरी, आम्दा अस्पताल-झापा, जिल्ला अस्पताल-खोटाङ, सामरी स्वास्थ्य चौकी- नुवाकोट, बेनी अस्पताल- म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र- बाग्लुङलाई एक-एक थान बेबीवार्मर गरि १० वटा बेबीवार्मर प्रदान गरेको थियो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

