काठमाडौं: ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत काठमाडौं महानगरपालिका वडा नं.१ महेन्द्र शालिक चोक कमलादीमा निर्माण गरेको ट्राफिक लाईट आज एक समारोहका बीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।
बैंकका सञ्चालक समितिका सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक श्री सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख श्री जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं.१ का वडा सदस्य श्री अशोक कुमार श्रेष्ठद्वारा संयुक्तरुपमा ट्राफिक लाईटको उद्घाटन गरिएको थियो।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्ट लगायत बैंकका विभिन्न पदाधिकारीहरु र महानगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख श्रीभट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंक प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो।
ट्राफिक लाईट जडान तथा संचालन भएसंगै महेन्द्र शालिक चोकमा राखिएको ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नकोलागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

