काठमाण्डौ । उदयपुरको त्रियुगा नदीमा पानीको सतह निक्कै बढेको छ । पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागले गाईघाट जलमापन केन्द्रमा पानीको सतह निरन्तर बढिरहेको जानकारी दिएको छ।
विभागले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा बस्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ।
यसैगरी, पर्वत जिल्लास्थित कालीगण्डकी नदीमा पनि पानीको सतह सतर्कता तह आसपासमा रहेको र बढ्दो क्रममा रहेकाले नदी किनारका बासिन्दा र भिरालो जमिनमा पहिरोको जोखिम भएकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरमा छ। विभागका अनुसार आज दिउँसो देशभर बदली रहनेछ र सबै प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा भने भारी वर्षा पनि हुन सक्छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई क्षेत्रमा धेरै ठाउँमा र पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

