काठमाण्डौ— प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (LLDC) मा सहभागी भएर शुक्रबार राति स्वदेश फर्किनुभएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका मुख्य सचिव, प्रधानसेनापतिलगायत उच्च अधिकारीहरूले स्वागत गर्नुभयो। प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद पनि अर्पण गरेको थियो।

यही साउन २० देखि २३ गतेसम्म (अगस्ट ५ देखि ८) सम्म तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा भएको यस सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित देशका प्रतिनिधिहरू सहभागी थिए। प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो।
सम्मेलनमा भूपरिवेष्ठित राष्ट्रहरूले भोग्नुपरेका समस्या, जस्तै: समुद्रमा प्रत्यक्ष पहुँचको अभाव, अन्तर्राष्ट्रिय व्यापारमा कठिनाइ, र महँगो पारवहन लागत जस्ता विषयमा छलफल भएको थियो। यसले यी देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख तथा संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो। यसअघि यस्तो सम्मेलन सन् २०१४ मा अस्ट्रियाको भियनामा भएको थियो।
प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, र अन्य उच्च सरकारी अधिकारीहरूको टोली पनि भ्रमणमा सहभागी थियो।

