तनहुँ। दसैँतिहार जस्ता पर्वका बेला पर्यटकले खचाखच हुने बन्दीपुर यो वर्ष भने सुनसान छ। गत वर्षको तुलनामा यसपटक पर्यटकको संख्या निकै घटेपछि स्थानीय होटल तथा होमस्टे सञ्चालक अन्योलमा परेका छन्।
गत भदौ २३ र २४ गतेको आन्दोलनअगाडि बन्दीपुरमा दैनिक करिब एक हजारभन्दा बढी पर्यटक पुग्थे। होटल र होमस्टेको कोठा लगभग भरिएका हुन्थे। तर आन्दोलनपछि आगन्तुक घट्दै गएर अहिले मुस्किलले सय जनाभन्दा बढी पर्यटक मात्र आउन थालेका छन्।
बन्दीपुर भ्रमण वर्ष–२०२५ घोषणा गरेर भव्य प्रचारप्रसार चलाइँदै गर्दा यस्तो अवस्था देखिएकोले पर्यटन व्यवसायी चिन्तित छन्। सचिवालय संयोजक वैशबहादुर गुरुङका अनुसार, “दसैँ–तिहार बन्दीपुरको पर्यटनको उच्च सिजन हो। तर यसपटक अघिल्लो वर्ष झैँ बुकिङ हुन नसकेको मात्र होइन, भएका बुकिङसमेत रद्द भइरहेका छन्।”
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर सुरक्षित रहेको सन्देश दिनुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनका अनुसार, आन्दोलन मात्र नभई सडकको दुर्दशाले पनि पर्यटक आगमन प्रभावित भएको छ। “हामी अब ‘बन्दीपुर सुरक्षित छ’ भन्ने सन्देशसहित पर्यटक आकर्षित गर्ने काममा लाग्छौँ,” उनले भने।

गत वर्ष (वि.सं. २०८१) बन्दीपुरमा दुई लाख पर्यटक पुगेका थिए, जसमा ६० हजार विदेशी र डेढ लाख स्वदेशी थिए। यस वर्ष त्यसको दोब्बर लक्ष्य राखिएको थियो। तर पछिल्लो परिस्थिति लक्ष्य पूरा हुने सम्भावनाबाट टाढिँदै गएको देखिन्छ।
बन्दीपुरका ऐतिहासिक मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन दरबार, पदयात्रा मार्ग, टुँडिखेल, झरना, पुस्तकालय र भक्तपुरे शैलीका घरहरू पर्यटकको मुख्य आकर्षण हुन्। तर पर्यटन व्यवसायीहरूको भनाइमा, अहिले ती स्थलहरूमा पुरानै चहलपहल हराएको छ।