काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। श्रीलङ्काको कोलम्बो रेसकोर्समा भएको खेलमा साविक विजेता भारतले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो।
भारतका लागि गुनलेइबा वाङखेरियाक्पामले ६१औँ मिनेटमा पहिलो गोल गरे। त्यसपछि अजलान शाहले ८०औँ मिनेटमा गोल थपे भने अतिरिक्त समयमा डायमन्ड सिंह थोकचोमले तेस्रो गोल गर्दै नेपालको आशा समाप्त पारे।
नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो। उसले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो। भारत भने समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल आएको हो। उसले माल्दिभ्सलाई ६–०, भुटानलाई १–० र पाकिस्तानलाई ३–२ ले पराजित गर्दै शतप्रतिशत जित हासिल गरेको थियो।