काठमाण्डौ । मधेश प्रदेशको नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले प्रदेश प्रमुखसमक्ष ५७ जना प्रदेश सांसदको हस्ताक्षरसहित ६ दलको समर्थनमा सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।
सोनललाई समर्थन गर्ने दलहरूमा लोसपा, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनस्वाराज पार्टी (जस्वपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू रहेका छन्। यो गठबन्धनले १०७ सदस्यीय प्रदेश सभामा सोनलको बहुमत सुनिश्चित गरेको छ।
उता, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका १३ सांसदको समर्थन रहेको भन्दै छुट्टै दाबी पेश गरेका थिए। तर जनमत पार्टीले औपचारिक रूपमा कांग्रेसको दाबी अस्वीकार गर्दै सोनलको पक्षमा समर्थन पत्र बुझाएपछि कांग्रेस–एमाले गठबन्धनको सरकार बनाउने योजना विफल भएको छ ।
मुख्यमन्त्री नियुक्तिको क्रममा प्रदेश प्रमुख कार्यालय परिसरमा कांग्रेस र लोसपाका कार्यकर्ताबीच तनावपूर्ण स्थिति समेत देखिएको थियो। केही बेरको वादविवादपछि सुरक्षा निकायको उपस्थितिमा स्थिति नियन्त्रणमा आएको थियो।
यसबीच, जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ले बिहिबार मात्र जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन्। सिंह निर्वाचन आयोगमा सनाखत गर्न पुगेका बेला जनमत पार्टीका कार्यकर्ताले रोक्न खोज्दा सामान्य झडप समेत भएको थियो।

नव नियुक्त मुख्यमन्त्री सोनलले बिहीबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रदेश प्रमुख भण्डारीले सोनललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधबार साँझ पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि सोनलले प्रदेशमा स्थायित्व, सुशासन र विकासमुखी शासन आफ्नो प्राथमिकता हुने बताएका छन्।
सोनल यसअघि प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री थिए ।
नवनियुक्त मुख्यमन्त्री सोनल मधेशको राजनीतिमा अनुभवी र सन्तुलित नेताका रूपमा चिनिन्छन्।
