झापा । शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब विजयी बनेको छ। शुक्रबार सम्पन्न खेलमा पुलिस क्लबले काठमाडौँको सङ्कटा फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो।
खेलको पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि उपयोग गर्न सकेनन्। तर दोस्रो हाफमा पुलिस क्लबले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो।
खेलको ७०औँ मिनेटमा मीना देउवाको सटिक हेडमार्फत पुलिसले पहिलो गोल गर्दै अग्रता बनायो। त्यसपछि ८२औँ मिनेटमा रेखा पौडेलले दोस्रो गोल गर्दै जित पक्का गरिन्।
उत्कृष्ट प्रदर्शनका कारण रेखा पौडेललाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको थियो। उनले रु १५ हजार नगद र ट्रफी प्राप्त गरिन्।
प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु ५ लाख पाउने छन्।
यस जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ भने सङ्कटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ। अब प्रतियोगिताको दोस्रो सेमिफाइनल शनिबार एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ।

