काठमाडौँ । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ। शनिबार भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमै ५८ रनमा अलआउट भएको थियो। नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन, लोकेश बमले १४ रन, र आदिल आलमले १३ रनको योगदान दिए। तर अन्य खेलाडी उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपालले प्रतिस्पर्धी लक्ष्य बनाउन सकेन।
दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिएर नेपाली ब्याटिङ लाइनअपलाई धराशायी पारे।
लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए। नेपालका तर्फबाट लोकेश बमले दुवै विकेट लिए।
यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार खेपेको छ। यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।
नेपाल अब आफ्नो आगामी खेलमा जित निकाल्दै प्रतियोगितामा फर्कने प्रयास गर्नेछ।

