काठमाण्डौ । लमजुङमा गए राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मस्र्याङ्दी गाउँपालिका–३ खुदिबाट सिमेन्ट लिएर नाइचेस्थित हिडिखोला हाइड्रोपावर साइटतर्फ जाँदै गरेको बा ८ च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
मृत्यु हुनेमा चालक दोलखा मेलुङ–४ का ३० वर्षीय विनोद खड्का र सवार २५ वर्षीय पारस खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार, जिप अनियन्त्रित भई सडकबाट करिब ८०० मिटर तल खसेपछि दुबैजनालाई गम्भीर चोटपटक लागेको थियो।
उनीहरूलाई उद्धार गरी बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल लमजुङ पुर्याइएको भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

