प्रधानमन्त्री सुशिला कार्की लगायत प्रमुख मन्त्रीहरू सहभागी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) ले आज राजधानी काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” आयोजना गर्दैछ। देशको बदलिँदो राजनीतिक र आर्थिक परिदृश्यबीच साझा दृष्टिकोण तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिको रूपमा सहभागी हुनेछिन्। त्यससँगै अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सहरी विकास मन्त्री, गृह मन्त्री ओमप्रकाश अर्याल, तथा उद्योग, वाणिज्य, आपूर्ति, कानून, न्याय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा लगायतका मन्त्रीहरूको पनि उपस्थिति रहनेछ।
महासंघका अनुसार कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विदेशी दूतावासका राजदूतहरू, विकास साझेदार तथा नियोगका प्रमुखहरू, साथै निजी क्षेत्रका प्रमुख संघ–संस्थाका पदाधिकारीहरू पनि सहभागी हुनेछन्।
जेनजी आन्दोलनपछि अर्थतन्त्रमा फोकस
महासंघका अनुसार पछिल्लो समयको जेनजी आन्दोलन र त्यसले ल्याएको राजनीतिक संक्रमणकालीन अवस्थापछि देशको आर्थिक दिशाबारे साझा सोच बनाउने लक्ष्यका साथ यो कार्यक्रम गरिएको हो।
कार्यक्रममा अर्थतन्त्रको पुनर्संरचना, लगानी प्रवाह, रोजगारी सिर्जना, निजी क्षेत्रको भूमिकालगायत विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले यसअघि २०८० सालमा पहिलो संस्करण “राष्ट्रिय बृहत आर्थिक बहस” आयोजना गरेको थियो। त्यसैको निरन्तरका रूपमा यस वर्षको बहसलाई २.० को रूपमा विस्तार गरिएको हो।

