काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिका–८ र ९ को सिमाना च्वावीरमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शुक्रबार अपराह्न बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जीप सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा ढोरपाटन–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कयतले जानकारी दिएका छन्।
उनीसहितका घाइतेलाई स्थानीयवासी र नेपाल प्रहरीले उद्धार गरी बुर्तिबाङ अस्पताल पुर्याएको थियो।
उपप्रमुख कयतका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ र थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ।
दुर्घटनाको कारण खुलेको छैन। घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।

