काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ। राजा, जेनजी आन्दोलन र राजनीतिक दलबीच त्रिपक्षीय समझदारी आवश्यक परेको दाबी गर्दै राप्रपाले आज मध्यान्ह १२ बजे रत्नपार्कमा जनप्रदर्शनको आयोजना गरेको हो।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमार्फत आम जनतासँग प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्।
उनले आगामी निर्वाचनअघि ‘कसैले नजित्ने, कसैले नहार्ने, देशले मात्र जित्ने’ प्रकारको सर्वपक्षीय नयाँ राजनीतिक समझदारी आवश्यक रहेको उल्लेख गर्दै राजा, राजनीतिक दल तथा जेनजी प्रतिनिधिहरू बीच संयुक्त सम्मेलन गर्नुपर्ने माग दोहोर्याएका छन्।
राप्रपाले अन्तरजिल्ला तथा विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने, जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको माग पूरा गरिनुपर्ने लगायतका मुद्दा प्रदर्शनको प्रमुख एजेन्डा रहेको बताएको छ।
राप्रपा पार्टी-प्रवक्ता ज्ञानबहादुर शाहीले जेनजी युवाले ‘सडकमा युद्ध जिते पनि राजनीतिक समझौतामा हार मान्नुपरेको’ टिप्पणी गर्दै नेपालमा संवैधानिक राजसंस्था आवश्यक भएको दाबी गरे। जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाजस्ता देशको मोडेल नेपालमा पनि उपयुक्त हुने उनको भनाइ छ।
राप्रपा हाल प्रदेश संरचना खारेज गर्ने, हिन्दु–बौद्ध–किराँत–समेत समेटिएको हिन्दु अधिराज्य स्थापना गर्ने, संवैधानिक राजसंस्था पुनःस्थापना गर्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनेजस्ता मागसहित आन्दोलनमा उत्रिएको दलका नेताहरूको दाबी छ।

