काठमाडौं । नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ। गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएसँगै नाका सञ्चालनमा आएको हो।
चिनियाँ पक्षले हिजै सूचना सार्वजनिक गर्दै आजदेखि नाका औपचारिक रूपमा खुला हुने जनाएको थियो। सो सूचनाअनुसार प्रारम्भिक चरणमा सीमापार ढुवानीमा संलग्न नेपाली सवारी चालकहरूलाई मात्र चीनतर्फ प्रवेश गर्न अनुमति दिइनेछ।
आगामी जनवरी १, २०२६ देखि भने एकतर्फी पालैपालो प्रणाली (One-way Alternating System) अनुसार सवारी आवागमन सञ्चालन गरिने जनाइएको छ। उक्त मितिदेखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारी साधनको निरीक्षणपछि मात्र आवागमनको अनुमति दिनेछ।
यस अवधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षले जनाएको छ।

