फिनाम, गोरखा ।
लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्णको पहलमा र सहायक संस्था फर्नट लायन अस्पताल तथा ॐ समाज डेण्टल अस्पतालको सहकार्यमा फिनाम क्षेत्रमा दुईदिने बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सफलतापूर्वक सम्पन्न भएको छ। पुष ११ र १२ गते सञ्चालन गरिएको उक्त शिविरले स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा दन्त सेवा उपलब्ध गराएको छ। शिविरको संयोजन फिनाम कुवापानी काठमाडौं सेवा समाजले गरेको थियो भने एशियन सेक्युरिटिज प्रा. लि. ले सहयोग प्रदान गरेको थियो।
शिविरमा ३६० भन्दा बढी सर्वसाधारणले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यसमा हाडजोर्नी, महिला तथा प्रसूति, नाक–कान–घाँटी, सामान्य चिकित्सा, आँखा परीक्षण, दन्त उपचार, नर्सिङ सेवा र औषधि वितरण समावेश गरिएको थियो। विशेष गरी १३८ जनाले दन्त परीक्षण गराएका थिए भने ३१ जनाले दाँत सफाइ र दाँत निकाल्ने सेवा लिएका थिए।
विशेषज्ञ चिकित्सकहरूमा डा. प्रतीक शाह (हाडजोर्नी), डा. सुनिता राणा (स्त्रीरोग), डा. महेश सिलवाल (एमडीजीपी), डा. विवेक लामा (ईएनटी) र डा. निरज कुमार साह (मेडिकल अफिसर) को सक्रिय सहभागिता रहेको थियो। दन्त स्वास्थ्य सेवा प्रदान गर्न ॐ समाज डेन्टल अस्पतालका डा. हरि शंकर यादव, डा. सुदेश अधिकारी, डा. दीक्षा चौधरी, जुनु पण्डित र सिर्जना सुनुवारले सेवा दिनुभएको थियो। अप्टोमेट्रिस्ट, फार्मेसी, नर्स तथा सहयोगी स्वास्थ्यकर्मीहरूले शिविरका प्रत्येक दिन निरन्तर सेवा प्रदान गरेका थिए।
स्वास्थ्य क्याम्पको व्यवस्थापन, मेडिकल टिम र स्वयंसेवक सेवा सञ्चालन गर्न गोरखा प्रस्थान गर्ने टोलीमा लायन्स क्लबका अध्यक्ष लायन उदय प्रसाद भण्डारी, जोन चेयरपर्सन लायन साधुराम पौड्याल, पूर्व अध्यक्ष लायन इन्द्र बहादुर न्यौपाने, लायन राजकुमार खरेल, हंगर चिफ लायन बालानन्द खत्री, सदस्यता समिति चेयरपर्सन लायन जिन माया चापागाईं, लाइफ मेम्बर लायन मधु महर्जन, सचिव लायन कृष्ण जङ्ग थापा तथा लाइफ मेम्बर लायन कमला बोहरा सहभागी हुनुहुन्थ्यो। योगा तर्फ लिला दाहाल, नारायण चापागाईं र हिमाल गिरीको पनि सक्रिय सहभागिता रहेको थियो।
शिविरमा सहभागी ९० वर्षीया पद्मकुमारी थापा, ८२ वर्षका झलकबहादुर थापा तथा अर्का ८२ वर्षका नारायणबहादुर खत्रीले यस्तो स्वास्थ्य शिविर आफूहरूजस्ता वृद्ध नागरिकका लागि अत्यन्तै महत्वपूर्ण भएको बताउँदै आयोजकप्रति आभार व्यक्त गर्नुभयो। स्थानीय महिला समूहले बाजागाजासहित स्वागत गर्दै आयोजक संस्था, चिकित्सक टोली र अतिथिहरूलाई सम्मान गरेका थिए।
कार्यक्रममा काठमाडौं–फिनाम सेवा समाजका अध्यक्ष मदन खड्काले “हाम्रो गाउँमा आएर बुढाबुढी आमाबुवाको स्वास्थ्य परीक्षणका लागि यस्तो सराहनीय कार्य गरिएकोमा लायन्स क्लब अफ इन्द्र अन्नपूर्णका सचिव किस्न जंग थापालाई विशेष धन्यवाद” व्यक्त गर्नुभयो। यस्तै, एशियन सेक्युरिटिज प्रा. लि. का अध्यक्ष राजकुमार खत्रीले भने,उ “साँचो सेवा भनेको गाउँ–गाउँमा पुगेर गरिने सेवा हो। सबैको रोजाइमा परेको ॐ समाज डेण्टल अस्पतालले जुन काम गरेको छ, त्यसले यो अस्पताल वास्तवमै गरिब तथा दिनदुखीको लागि समर्पित रहेको प्रमाणित गरेको छ,” भन्दै लायन्स क्लब अफ इन्द्र अन्नपूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो।
फिनाम–४ का वडा अध्यक्षले यस्ता स्वास्थ्य शिविरहरू विकट क्षेत्रका नागरिकका लागि अत्यन्त प्रभावकारी हुने उल्लेख गर्दै, निःशुल्क सेवा प्रदान गरिएकोमा आयोजक, संयोजक संस्था तथा चिकित्सक टोलीप्रति आभार व्यक्त गर्नुभयो। शिविर सफल बनाउन फिनाम स्वास्थ्य चौकीले आवश्यक स्वास्थ्य सामग्री र सेवामार्फत ठूलो सहयोग प्रदान गरेको थियो।
यस बृहत् शिविरले स्थानीयवासीमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै ग्रामीण क्षेत्रका नागरिकमा स्वास्थ्य सचेतना र निःशुल्क सेवा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको छ। स्वास्थ्य शिविरमा सहभागी नागरिकहरूले दैनिक जीवनमा स्वास्थ्य जाँच र दन्त उपचारको पहुँच पाउनु अत्यन्त लाभदायी रहेको बताउनुभयो।
लायन्स क्लब अफ इन्द्र अन्नपूर्णका अध्यक्ष उदय भण्डारीले समाजसेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै, आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा सामाजिक सेवा कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो। शिविरले दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तारमा नमूना प्रस्तुत गरेको छ र सामाजिक एकता, सेवा भावना र सहकार्यको उत्कृष्ट उदाहरण कायम गरेको छ।

