काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमी नेतृत्वको एक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएको छ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सायमीको साथमा रविन्द्रकुमार श्रेष्ठ लगायत नेकपामा प्रवेश गरेका हुन् ।

बुधबार दिउँसो काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सायमी नेतृत्वको समूह औपचारिक रूपमा नेकपामा प्रवेश गरेको हो। कार्यक्रममा सायमीसहित राष्ट्रिय मुक्ति पार्टीका केही नेताहरू, सहकारी पीडित तथा नदी किनारको मापदण्डविरुद्ध संघर्षरत अभियन्ताहरू समेत नेकपामा प्रवेश गरेका हुन् । पार्टीमा नेकपाका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले भव्य स्वागत गरेका हुन् ।
नेकपाले सायमीलाई आगामी निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनाउने गरि तयारी गरेको जनाएको छ।
गुठी आन्दोलनका नेता सायमी गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।
सायमीले सो निर्वाचनमा अत्यन्त प्रतिष्पर्धाको बीच १३ हजार ७७० मत प्राप्त गरेका थिए।

