काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ता, विशेषगरी ‘जेन–जी’ को भावना र अपेक्षाअनुसार कांग्रेस पार्टी क्रियाशील रहेको बताउनुभएको छ। कांग्रेसभित्र युवाको आवाज सुन्ने र सम्बोधन गर्ने विषयमा कुनै अन्योल नरहेको उहाँले स्पष्ट पार्नुभयो।
नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै महामन्त्री पौडेलले पार्टीले समयअनुसार आफूलाई परिमार्जन गर्दै लैजाने नीति लिएको उल्लेख गर्नुभयो।
उहाँले हालै सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाएको र आगामी निर्वाचनमा होमिन सहज वातावरण सिर्जना गरेको दाबी गर्नुभयो।
कांग्रेसको नेतृत्वमा देशमा विकास–निर्माणका गतिविधिलाई तीव्रता दिनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दिलबहादुर घर्ती र पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो।

