काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिन र भएमा तत्काल कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको छ। आयोगले फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न निर्देशन दिएको छ।
आयोगको विज्ञप्तिअनुसार गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिई जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ अनुसार उल्लङ्घन गर्नेको कारबाही रिपोर्ट आयोगमा पठाउन अनुरोध गरिएको छ।
साथै आयोगले मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पनि प्रतिबन्ध लगाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ।
मतदानको दिनमा अत्यावश्यक सेवाका सवारी साधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी, विद्युत्–पानी मर्मत, ढल मर्मत, दूरसञ्चार मर्मत), कूटनीतिक नियोगका सवारी, र निर्वाचनको दिनमा पास प्राप्त अन्य सवारी बाहेक सबै सार्वजनिक तथा निजी सवारी साधनहरू फागुन २० राति १२ बजे देखि फागुन २१ मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाउने व्यवस्था आयोगले निर्देशन दिएको छ।
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरू भने यथावत् सञ्चालन हुनेछन् र टिकटधारी यात्रुहरूलाई विमानस्थल–होटल–वापसीमा सम्बन्धित एयरलाइन्स वा निजी सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाइएको छ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्न तोकिएका कार्यहरू पूरा गर्ने व्यवस्था गरिएको छ। मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमति पत्र मध्ये कम्तिमा एक कागजात साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ।
आयोगले सवारी पास वितरण प्रक्रिया पनि स्पष्ट पारेको छ। आयोग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट जारी हुने सवारी पास निर्वाचन आयोगको सचिवालय परिसरमा स्थापना हुने पास वितरण एकाइबाट उपलब्ध गराइनेछ। यस एकाइमा आयोगको तर्फबाट दुई र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको तर्फबाट दुई जना कर्मचारी तोकिने छन्।

