काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण जोखिम उच्च छ । यस्तोमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने यही बीचमा जात्राको तयारी पनि चलिरहेको छ । ललितपुरको पुल्चोकमा रातोमछिन्द्रनाथको जात्राका लागि रथ बनाउने काम चलिरहेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरकै अनुमतिमा पुल्चोकको सडकमा बिहीबारदेखि रथ निर्माणको काम सुरु भएको हो ।
स्वास्थ्य सावधानी अपनाएर रथ निर्माणका लागि अनुमती दिइएको प्रशासनको भनाइ छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी डुण्डीप्रसाद निरौलाले स्थानीयको माग र संस्कृतिसमेत जोडिएको विषय भएकाले रथ निर्माण र परम्परा धान्नका लागि अनुमति दिइएको बताए । यद्यपी कोरोना संक्रमणको जोखिम उच्च रहेकाले स्वास्थ्य मापदण्ड पालना गरिनुपर्नेमा प्रशासनले जोड दिएको छ ।
‘महास्नान गरिसकेपछि रथ निर्माणदेखि तान्नेलगायतका सबै प्रक्रिया पूरा गर्नुपर्ने मान्यता रहेछ’, धर्म संस्कृतिसँग जोडिएको विषय भएकाले स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिने भन्ने भएको छ’, उनले भने ।
गतवर्ष रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको थियो । स्थानीयले रथ तान्न खोज्दा प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा स्थानीयले प्रहरीमाथि ढुंगा हानेका थिए ।
विवाद बढेपछि पुल्चोक क्षेत्र तनावग्रस्त भएको थियो भने सोही विषयमा विवाद उग्र भएपछि प्रशासनले निषेधाज्ञा नै जारी गर्नुपरेको थियो भने निषेधाज्ञाकै बीच स्वास्थ्य मापदण्ड अपनाएर रथ तान्न दिइएको थियो ।
