शत्रुघन श्रेष्ठ
नेपालमा नगरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित नागरिक लगानी कोषले वि.सं. २०४८ माघ १ गते देखि आफ्नो व्यवसायिक कारोबार शुरु गरेको हो । शुरुमा कोषको चुक्ता पुँजी रु. २ करोड ४० लाख बाट कारोबार प्रारम्भ थालेको कोषको हालको चुक्ता पुँजी रु. ५ अर्ब ३१ करोड ३७लाख ५० हजार रहेको छ । देशको आर्थिक विकासका लागि सर्वसाधारण जनताहरुलाई समेत बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवश्यक कोष तथा सामाजिक सुरक्षाको कार्यक्रम सञ्चालन गर्न र पूँजि बजारमा गतिशिलता ल्याउने प्रमुख उद्देश्य राखि कोष स्थापना भएको थियो ।
नागरिक लगानी कोषमा नेपाल सरकारको २३.३४ प्रतिशत राष्ट्रिय बिमा संस्थानको ३१.५५ प्रतिशत, नेपाल स्टक एक्सचेञ्ज को १० प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाको १५.११ प्रतिशत सेयर स्वामित्व कायम रहेको छ । नागरिक लगानी कोषको अधिराज्य भरका ५ वटा शाखा कार्यालयबाट करिब १२० भन्दा बढी कर्मचारीहरु मार्फत राज्य तथा योगदान कर्ताहरुलाई सेवा सुविधानहरु प्रदान गरी ठूलो लोकप्रिय ट्रष्टी कोष परिवार बनाउने कार्यमा योजनाबद्ध रुपले अघि बढिरहेको छ । कोषले आयोजना पूर्वाधारमा लगभग रु. २५ अर्ब भन्दा बढी लगानी गरी वार्षिक साढे २.५० प्रतिशत भन्दा बढि राष्ट्र तथा योगदान कर्ताहरुलाई प्रतिफल दिंदै आईरहेको छ । त्यतिमात्र नभै कोषले लगानी कर्ताहरुलाई सामाजिक सुरक्षा, पेन्सन, दुर्घटना क्षतिपूर्ति, काजकृया, औषधि उपचार, सुत्केरी शिशु स्याहार हेरचाह, ब्याज प्रतिफल आदि कोषबाट भुक्तानी गरी सेवा दिंदै आइरहेको छ ।
आ.व. २०७८/०७९ मा नागरिक लगानी कोषको १५.६६% प्रतिशतले वृद्धि भई रु. २ खर्ब ३५ करोड ३ लाख पुगेको छ ।
कोषले सञ्चालन गरेका विभिन्न बचत कार्यक्रमहरुबाट आ.ब. २०७८/०७९ मा रु. १ खर्ब ७६ अर्ब २१ करोड खुद कोष संकलन भएको थियो । यस्तो कोष हाल २६ करोड खुद कोष मौज्दात पु¥याउन सफल भएको छ । नयाँ कार्यक्रमको रुपमा कोषले सञ्चालन गरेका नागरिक पेन्सन योजना कार्यक्रमले स्वरोजगारमा रहेका, बैदेशीक रोजगारमा रहेका , नागरिकहरुलाई पनि नागरिक पेन्सन योजनामा समावेश गरी सामाजिक सुरक्षा प्रदान गर्न तथा सहभागीहरुलाई विविध प्रकारका सेवा तथा सुविधाद्वारा लाभान्वीत बनाउने उद्देश्य अनुरुप आफ्ना क्रियाकलापहरु सञ्चाल्न गर्दै आइरहेको छ ।
छाेटो समयमा यस कार्यक्रममा ४ हजार ५०० जना भन्दा बढी नागरिक सहभागी भई रु. ८ करोड ९३ लाख २४ हजार संकलन भैसकेको छ । प्रतिस्पर्धा संस्थाको रुपमा हेर्ने हो भने कोषले आफूलाई सदासर्वदा गुणस्तरीय सेवाको स्तरीय मापदण्ड, दिगोपन, नागरिकहरु प्रति विश्वसनीयता जागरुक गराई, कोष प्रति पूर्णरुपमा विश्वास दिन सफल भएको छ । त्यति मात्र नभै मूलुकको आर्थिक विकासमा आमूल परिवर्तन ल्याई आर्थिक वृद्धिदर बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, उद्योग धन्दाको विकास गर्ने, लक्ष्य राखी सरकारले लिएको लक्ष्य पूरा गर्न सहयोग पु¥याउने तर्फ पनि काम गर्दै सरकारलाई सधैं कोषले मद्दत गर्दै आइरहेको छ । त्यति मात्रै नभै कोषले कृषि, पर्यटन र जलविद्युतका क्षेत्रमा ठूला परियोजना सञ्चालनमा ल्याई सरकारले लिएको लक्ष्य “समृद्ध नेपाल सुखी नेपाली” को नारालाई टेवा पु¥याउँदै आईरहेको छ ।
कोषले नागरिकहरुमा कोषप्रति विश्वसनीयता जगाई देशको आर्थिक संकुचनको कालो बादललाई हटाउँदै गई कोष निरन्तर रुपले आर्थिक समृद्धिको बाटोमा शेयर धनीहरुलाई प्रत्येक वर्ष उच्चतम प्रतिफल दिन सफल भएको छ ।
लेखक
(शत्रुघन श्रेष्ठ, कोषका शेयर धनी हुन्)

