काठमाडौं । शान्तिको सन्देशको ७० औं शृंखला दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार रामप्रसाद पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शान्तिनगर उपभोक्ता समितिको सभाहल महाकांल ओरालोमा कार्यक्रम भएको हो ।
कथाकार दिवाकर न्यौपानेको कथावाचनबाट शनिबार बिहान ८ बजे कार्यक्रम आरम्भ भएको थियो । हरेक महिनाको अन्तिम शनिबार गरिदैं आएको शान्तिको सन्देशको मंसिर शृंखलामा कवि एवम् साहित्यकार ओमप्रसाद कोइराला, रामचन्द्र दहाल, जिविका काफ्ले, उज्जला कुमारी साह, कुशल मगर, भावना बराल, अमृतप्रसाद पौडेल, सुनिता बराल, पुष्पा दहाल, पुकार कोइराला, जमुना आचार्य, मिसन अधिकारी, यदुनाथ वसन्तपुरे, हरिप्रसाद पाण्डे , आरती साह, रत्नप्रसाद उप्रेती, डा कृष्ण सुवेदी (भारद्वाज मित्र) दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ त्रिलोचन आचार्यले आ-आफ्ना सृजना पस्किएका थिए ।
कार्यक्रम सञ्चालन उपभोक्ता समितिका महासचिव राजेन्द्र गजुरेल र अध्यक्ष बुद्धिगम्भिर थापाको सभापतित्वमा सम्पन्न भएको हो ।
स्रष्टाले आफ्नो अलग पहिचान बनाउनुपर्छ : साहित्यकार पन्त

दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार रामप्रसाद पन्तले प्रत्येक स्रस्टाले आफ्नै पहिचान बनाउन आवश्यक भएकोमा जोड दिए । ‘हामी देवकोटा, लेखनाथ, भूपी या अन्य साहित्यकारका सृजना पढ्छौं, तीबाट प्रभावित पनि हुन्छौं । हामीलाई देवकोटा, लेखनाथ, भूपी आदि सबै मन पर्छन् । तर हामीले देवकोटा, लेखनाथ या भूपी बन्ने होइन । हामीले आफ्नो फरक पहिचान बनाउने हो ।’ पन्तले भने- देवकोटा, लेखनाथ या भूपीको भीडमा कसरी र कस्तो आफ्नो पहिचान बनाउने भन्नेमा आजका स्रस्टा लाग्नु आवश्यक छ ।’
अरूजस्तै बन्न खोज्नेहरूले आफ्नो अस्तित्व निर्माण गर्न नसक्ने दाबी गर्दै शान्तिको सन्देश ७० औं शृंखलामा प्रमुख अतिथी साहित्यकार पन्तले आफ्नो बाटो स्रस्टा आफैंले आफैं चालक, आफैं डोजर भएर बनाउनुपर्नेमा जोड दिए ।

