काठमाडौं । साहित्य सन्ध्यामा कवि लक्ष्मण तिमल्सिनाको कवितासंग्रह ‘मातृ वन्दना’ को लोकार्पण भएको छ । पद्मोदय हाइस्कुल प्रदर्शनीमार्ग, काठमाण्डौमा आयोजित ४५८ औँ नियमित मासिक शृङ्खलामा तिमल्सिनाकृत कविता-संचयन मातृ वन्दनाको लोकार्पण भएको हो । महिनाको पहिलो शनिबार हुँदै आएको साहित्य सन्ध्या ४५८ औं शृंखला बीचमा तिमल्सिनाको पहिलो कृति सार्वजनिक भएको हो ।
सिन्धुपाल्चोक, इन्द्रावतीका लक्ष्मण तिमिल्सिनाद्वारा लिखित कवितासङ्ग्रह ‘मातृ वन्दना’को साहित्यकार राम विनय, चन्द्रप्रसाद न्यौपाने, डा.कृष्ण सुवेदी, आभा सेतु सिंहलगायतले संयुक्तरूपमा लोकार्पण गर्नुभएको हो। लोकोर्पित कृतिमाथि डा.कृष्ण सुवेदी (भारद्वाज मित्र)ले समीक्षा गर्नु भएको थियो ।
२०१६ सालमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको धुसेनीमा सीतामाई तिमिल्सिना र चन्द्रलोचनतिमल्सिनाका सन्तान लक्ष्मण शिक्षण पेसामा जीवन समर्पित गरी निवृत्त भएका छन् । तिमल्सिनाको प्रस्तुत कवितासङ्ग्रह १०० पृष्ठको डिमाइ आकारको रहेको र त्रिपन्नओटा कविता समेटिएका छन् ।

डा सुवेदीले लक्ष्मणका कविताले पाठकको मन छुने र सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । कवितामा वार्णिक छन्दको सुन्दर प्रयोग गरिएको, विम्ब, प्रतीक, अलङ्कार र रसको समेत सुन्दर प्रयोग भएकोले नेपाली छन्द साहित्यमा लक्ष्मण तिमल्सिना एउटा उदाहरणीय साधक बन्न पुगेको औंल्याउनु भयो ।
यसै हो र मन मेरो डढेको
न सम्पत्ती न केटो पढेको
आफ्नै श्रीमतीले मेलापात गर्दा गाएको यो गीतबाट अब न पढी भएन भनेर पढ्न थालेका लक्ष्मण तिमल्सिना आफूले पढेनन् मात्र, हजारौंलाई औपचारिक अध्ययन पनि गराएर हाल सेवा निवृत जीवन बिताई रहनुभएको छ । सेवा निवृत जीवन बाँचिरहदा उहाँको प्रस्तुत कृति सार्वजनिक भएको हो ।
सामाजिक रुपान्तरणमा गीत/गजलको प्रभावमाथि चर्चा
कार्यक्रमकै विचमा साहित्यकार प्रभाती किरणले सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव विषयमा चर्चा-परिचर्चा गर्नु भयो ।
साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको सञ्चालक रहनुभएको साहित्य सन्ध्यामा अतिथिका रूपमा साहित्यकार चन्द्रप्रसाद न्यौपाने, प्रभाती किरण, डा.कृष्ण सुवेदी, सिन्धुपाल्चोकका जनप्रतिनिधि शशिनाथ आचार्य, साधुराम नेपाल, माननीय आभा सेतु सिंह, उमेश उपाध्याय, डा.राजेन्द्रप्रसाद अधिकारी, रत्ननिधि रेग्मी, डा.प्रेमराज सिलवाल, लालुपाते सांस्कृतिक परिवारका सदस्यहरू, माधव प्रधान, महेशराज खरेल, रत्न उप्रेती, बैरागी जेठा, नवराज श्रेष्ठलगायतको उपस्थिति थियो ।
‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा चर्चा गर्नुहुँदै समालोचक प्रभाती किरणले जनतामा गीत गजलले आफ्नो हक अधिकारका लागि आवाज उठाउनुपर्छ भन्ने चेतनाको विकास गरेको, सङ्गठितरूपमा एकजुट भएर सङ्घर्ष गर्ने हो भने गन्तव्यमा पुगिने कुरा उजागर गरेको, दास मानसिकताको त्याग गरी न्यायका लागि आवाज उठाउन प्रेरित गरेको दाबी गर्नुभयो । जातीय, लैङ्गक तथा अन्य सामाजिक भेदभावविरुद्धका आवाज उठाउन सिकाएको; समानता, स्वतन्त्रता, न्याय र एकताका लागि प्रतिबद्ध रहन सिकाएको; निमुखा, असहाय भनेर हेपिएका वर्गलाई जुर्मुराउन प्रेरणा दिएको; विभेदमुक्त र समतामूलक समाज निर्माणका लागि लड्न ऊर्जा थपेको समेत उहाले बताउनु भयो ।

कार्यक्रममा सोइना दाहाल, ओमप्रसाद कोइराला, नवराज श्रेष्ठ, डा.मनोज जोशी, त्रिलोचन आचार्य, महेशराज खरेल, माधव प्रधान, थरेन्द्र बराल, वासुदेव अधिकारी पाँचथरे, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, रत्ननिधि रेग्मी, आभा सेतु सिंह, उमेश उपाध्याय, मिसन अधिकारी, डा.राजेन्द्रप्रसाद अधिकारी, अर्जुन अन्योल, रत्न उप्रेती र बैरागी जेठालगायतले आफ्ना रचना पस्किएका थिए ।
साहित्य सन्ध्यामा वाचित रचनामाथि कवि चन्द्रप्रसाद न्यौपानेले समीक्षा गर्नुभएको थियो । कार्यक्रम साहित्य सन्ध्याका अध्यक्ष कवि राम विनयको अध्यक्षतामा सम्पन्न भएको हो ।

