काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको पदभार ग्रहण तथा प्रमाण-पत्र वितरण सम्पन्न भएको छ । आइतबार महासंघ उपत्यका प्रदेशको कार्यालय अनामनगर काठमाडौंमा निर्वाचन समितिले प्रमाण-पत्र वितरणसहित सपथ ग्रहण गराएको हो ।
मंसिर २८ मा सम्पन्न पत्रकार महासंघको उपत्यका प्रदेशमा निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अध्यक्ष प्रभुनारायण बस्नेत, अधिवक्ता द्रोण दहाल, अधिवक्ता बीरेन्द्र ठाकुर, किशोर शर्मा, मुकुन्द पौडेल, दामोदर दवाडी लगायतले सपथग्रहण गराएका हुन् ।
उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका (टेकबहादुर रोका) हुन् । महासंघको उपत्यका प्रदेशमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला शाखाका मतदाताले मतदान गरेर नयाँ नेतृत्व चयन गरेका हुन्।
उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा र रमा न्यौपाने छन् ।
त्यस्तै महासचिवमा आशिष गुरागाईं, सचिवमा अजित अधिकारी, प्रविण श्रेष्ठ रहेका छन् । श्रेष्ठ समावेशी कोटाबाट निर्वाचित भएका हुन् । सन्जिप घिमिरे कोषाध्यक्ष हुन् ।
त्यसैगरी खुला ६ सदस्यमा विजयी घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भिमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री लगायत महिला सदस्य उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) उपत्यका प्रदेश कार्यसमितिमा छन् भने दलितबाट लिलामाया नेपाली र जनजातीबाट शैलेस डंगोल र सुरेश सायजु एवम् मधेशी र अल्पसंख्यक कोटाबाट प्रदिप मण्डल र भक्ति शाह सदस्य रहेका छन् ।
आइतबार कार्यसमितिमा निर्वाचित पदाधिकारी एवम् सदस्यहरूले निर्वाचन समितिसामु प्रमाण-पत्र ग्रहणका साथसाथ सपथ लिएका हुन् ।
महाधिवेशनको मुखमा सकृय हुने र क्रमश: निश्कृय हुँदै जाने रोग पत्रकार महासंघ उपत्यका प्रदेशको प्रमाण-पत्र वितरण तथा सपथग्रहण कार्यक्रमबाटै शुरु भएको छ । मंसिर २८ मा भएको निर्वाचनमा प्रेस सेण्टरको तर्फबाट सचिवमा विजयी नयाँ पत्रिका दैनिककर्मी अजित अधिकारी र कोषाध्यक्ष निर्वाचित संजिप घिमिरे सपथग्रहण कार्यक्रममै पुगेनन् ।

