काठमाडौं । अभिनव साहित्य समाजको २७५ औं शृङ्खला सम्पन्न भएको छ । समाजले पुस २७ गते शनिबार पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवसका अवसरमा कवि गोष्ठी सम्पन्न गरेको हो ।
समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व, प्राध्यापक गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्यता र बाजुराम पौड्याल, गंगाप्रसाद भेटवाल, मधुसूदन घिमिरे, मेघराज ढकालको आतिथ्यतामा समाजले २७५ औं शृंखला सम्पन्न गरेको हो । शारदा पराजुलीको उद्घोषण, मेनका आचार्यको स्वागत मन्तव्य र समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको धन्यवाद ज्ञापन एवम् वाचित रचनामाथि समीक्षात्मक मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो । पृथ्वीनारायण शाह देशको ‘एकीकरणको नेतृत्वदायी भूमिकामा मात्र हैन, साहित्यकार पनि थिए’ घिमिरेले भने ।
कार्यक्रममा सहभागी सर्जकले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए । सहभागीहरुमध्ये मधुसूदन ढुङ्गेल, सुरेशचन्द्र घिमिरे र विजय बस्नेतका रचनालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
सुशील आचार्य, सरिता दुलाल घिमिरे, ठाकुर प्रसाद खतिवडा, बि.पी. इलामे, बद्री सुवेदी, दिवाकर चालिसे, मधुसूदन आचार्य, परशुराम पराशर, दिवाकर नेउपाने, रघुनाथ आचार्यका अतिरिक्त लट्स लाइट स्कुलका विद्यार्थीहरूले समेत आफ्नो सृजना सुनाएका थिए ।

