काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जरैदेखि पुनर्गठन गर्दै जेनजी एवम् युवा पुस्तालाई संगठनका सबै तहमा अनिवार्य समावेश गर्ने प्रस्ताव अघि सारेका छन्।
पेरिसडाँडामा आकस्मिक रूपमा आइतबारबाट बसेको पदाधिकारी बैठकमा बोल्दै प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रमले युवापुस्तालाई अंगाल्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार वडा, पालिका, जिल्ला र प्रदेश सम्मेलनमा जेनजीलाई कोटा निर्धारण गरेर अघि बढ्नुपर्ने छ।
यसैक्रममा उनले एक साताभित्र केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएर सबै समिति भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका छन्। प्रचण्डको भनाइमा, “आयोजक समितिको संयोजक बनाएर जाऔँ, अहिलेका केन्द्रीय, स्थायी र पदाधिकारी सबै खारेज गरौँ।”
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशको राजनीतिक समीकरण उल्ट्याएपछि माओवादी नेतृत्व दबाबमा छ। आन्दोलनको क्रममा सुरक्षापक्षले गोली चलाउँदा ठूलो संख्यामा युवाहरू मारिएका थिए। त्यसको भोलिपल्ट भएको जनप्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। हाल सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ र संसद् विघटनसहित फागुन २१ गते निर्वाचन मिति तोकिएको छ।
माओवादी पार्टीभित्र पनि असन्तुष्टि चुलिएको छ। उपमहासचिव जनार्दन शर्माले महाधिवेशन माग गर्दै आएका छन् भने जेनजी आन्दोलनपश्चात् प्रचण्डलाई राजीनामा दिनुपर्ने दबाब अझ बढेको छ।