काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सोमबार थप मन्त्री नियुक्त गरिएको छ । नवनियुक्त मन्त्रीहरूको अपरान्ह दुई बजे राखिएको शपथको समय एक घण्टा सरेको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् वैज्ञानिक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी हुन् ।
स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले मिश्राको नाम मन्त्रीबाट फिर्ता लिने सम्भावना रहेको स्रोतले जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।
रामेश्वर खनाल दोस्रो बरियतासहित अर्थमन्त्री रहेका छन् भने कुलमान घिसिङ उर्जा, जलसोत तथा सिंचाई सहित भौतिक पूर्वाधार तथा सहरी बिकास मन्त्री रहेका छन् भने गृह मन्त्रालय सहित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा ओमप्रकाश अर्याल रहेका छन् ।