भरतपुर । बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी आवागमन निर्वाध रहेको प्रहरीले जनाएको छ।
दशैँ सुरु भएपछि पटक–पटक पहिरोले अवरुद्ध गर्दै आएको नारायणगढ–मुग्लिन सडक आज भने निर्विघ्न सञ्चालनमा छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हिजोअस्तिको तुलनामा सवारी चाप कम भएको छ भने हालसम्म कुनै अवरोध छैन।
उनका अनुसार दशैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मीलाई २४ घण्टा खटाइएको छ, जसका कारण यात्रुलाई सहज र सुरक्षित यात्रामा सहयोग पुगेको छ।
मंगलबार साँझ इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदो सहितको पहिरो खस्दा सडक करिब एक घण्टा अबरुद्ध भएको थियो। साँझ ८ः४० बजेदेखि सडक पुनः सञ्चालनमा आएपछि रातिसम्म सवारी चाप देखिएको भए पनि अहिले भने सामान्य मात्र रहेको प्रहरीले जानकारी दिएको छ।
तुइन खोलामा बारम्बार पहिरो खस्दा यात्रुले विगतमा सास्ती भोग्दै आएका थिए । तर आज बुधबार भने यात्रुहरूको यात्रा सहज बनेको छ।

