काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर वर्षा गराउने न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिएको जनाएको छ। विभागले आज अपराह्न जारी गरेको विज्ञप्तिमा उक्त प्रणाली मुलुकबाट हटिसकेकाले हाल मौसममा सुधार देखिन थालेको उल्लेख गरिएको छ।
विभागका अनुसार बङ्गालको खाडीबाट विकसित उक्त न्यूनचापीय प्रणाली असोज १७ गतेदेखि सक्रिय रही देशका विभिन्न भागमा निरन्तर वर्षा गराइरहेको थियो। प्रणाली बाहिरिएसँगै मनसुन कमजोर बन्दै गएको भए पनि औपचारिक रूपमा मनसुन बहिर्गमन भइनसकेको स्पष्ट गरिएको छ।
विभागले अझै पनि मनसुनजन्य प्रकोपको जोखिम पुरै टरेको नभएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
हालका संकेतले मौसम क्रमशः स्थिर र सफा हुने अनुमान विभागले गरेको छ।

