काठमाडौं । विश्वकप छनोट तयारीअन्तर्गत शनिबार सम्पन्न पहिलो वार्मअप खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ।
ओमानले प्रस्तुत गरेको १११ रनको लक्ष्य नेपालले १७ ओभरमै चार विकेट गुमाउँदै सहज रूपमा पूरा गर्यो। नेपालको जितमा ओपनर आसिफ शेखले ६१ रनको चम्किलो अर्धशतकीय इनिङ्स खेले। कप्तान रोहित पौडेलले २५ रन, कुशल भुर्तेलले ११ रन र कुशल मल्लले १० रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभर पूरा खेल्दै ९ विकेटको क्षतिमा ११० रन जोडेको थियो। नेपालका बलरहरू प्रभावकारी देखिए — सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए।
अब विश्वकप छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली “सुपर सिक्स” चरणमा प्रवेश गर्नेछ, जहाँबाट शीर्ष तीन टोलीले आगामी वर्षको टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

