काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई यात्रामा सतर्क रहन र सम्भव भएसम्म तत्काल यात्रा नगर्न आग्रह गरेको छ।
टानका अध्यक्ष सागर पाण्डेले विज्ञप्ति जारी गर्दै सतर्क रहन अपिल गरेका हुन् ।
पाण्डेले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै भनेका छन्— “पश्चिमी वायु र अरव सागरमा बनेको न्यूनचापीय प्रणालीका कारण कात्तिक १० देखि १२ गतेसम्म कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, जसले उच्च हिमाली क्षेत्रका गतिविधिमा असर पार्न सक्छ।”
हाल डोल्पा, धौलागिरि, मुस्ताङ, मनाङ, मनास्लु, लाङटाङ र सगरमाथालगायतका प्रमुख पर्यटन गन्तव्यमा वर्षासँगै हिमपात सुरु भइसकेको र पदयात्रा तथा आरोहण गतिविधि प्रभावित भइरहेको टानले जनाएको छ।
अध्यक्ष पाण्डेका अनुसार कतिपय क्षेत्रमा स्थानीय प्रशासनले नै पदयात्रा अस्थायी रूपमा रोक लगाइसकेको छ। उनले मौसममा सुधार नआउन्जेलसम्म उच्च पास हुँदै हुने पदमार्गहरूमा यात्रा नगर्न वा नगराउन आग्रह गरेका छन्।
यस्तै, सम्भावित उद्धार र आपत्कालीन समन्वयका लागि टानले स्थानीय सरकार, प्रशासन, सुरक्षा निकाय (प्रहरी, सशस्त्र प्रहरी, सेना) तथा संरक्षण क्षेत्रका व्यवस्थापकहरूसँग सम्पर्कमा रहन आग्रह गरेको छ।

