काभ्रेपलाञ्चोक — आगामी दुई दिन भारी वर्षा र पहिरोको उच्च जोखिम देखिएपछि बीपी राजमार्गमा सवारीसाधन सञ्चालन रोकिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाको पूर्वानुमान गर्दै सतर्कता सन्देश जारी गरेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बुधबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार धुलिखेल–काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धुली सिमानास्थित नेपालथोकसम्मको खण्डमा सवारी आवतजावत पूर्ण रूपमा रोकिएको छ। उनले रोशी खोला र स्थानीय सहायक खोलामा पानीको सतह बढेमा अन्य समयमा पनि प्रहरी र ट्राफिकले तत्काल सवारी रोक्न सक्ने बताएका छन्।
समितिले दुई दिनको अवधिमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, राति यात्रा नगर्न र पहिरो जोखिम क्षेत्रबाट टाढा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
गत भदौ १६ गतेदेखि मनसुनजन्य जोखिमका कारण १५ दिन सवारी रोक लगाइएकामा असोज १ गतेदेखि मात्र पूर्ण सञ्चालनमा ल्याइएको थियो। त्यसअघि असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाइँदै आएको थियो।
समितिका अनुसार मनसुन अझ सक्रिय बन्दै गएकाले बीपी राजमार्गमा बाढीपहिरोको जोखिम बढेको छ। त्यसैले सम्भावित विपद् कम गर्न सवारी रोक्ने निर्णय गरिएको हो। काठमाडौंबाट पूर्वतर्फ जाने सवारी काभ्रेभञ्ज्याङमै रोकिनेछ भने पूर्वबाट काठमाडौं आउने सवारी सिन्धुलीको नेपालथोकमा नै रोकिनेछ।
गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्म करिब आठ किलोमिटर सडक बगाएको थियो। हाल उक्त क्षेत्रमा अस्थायी सडकमार्गबाट एकतर्फी वा सीमित रूपमा यातायात सञ्चालन हुँदै आएको छ।
१६० किलोमिटर लम्बाइको बीपी राजमार्ग पूर्व–पश्चिम यातायातको मुख्य वैकल्पिक मार्ग हो। दैनिक हजारौँ सवारी गुड्ने यो राजमार्गका क्षतिग्रस्त खण्ड स्थायी पुनर्निर्माणका लागि चार चरणमा ठेक्का प्रक्रिया अघि बढाइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।

