काठमाडौं — नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईका अनुसार रसले आफ्नो पदबाट राजीनामा पत्र बुझाएका छन्। उनले राजीनामाको कारणबारे पछि जानकारी गराइने बताएका छन्।
अस्ट्रेलियाली प्रशिक्षक रस र एन्फाबीच गत फागुनमा एक वर्षका लागि सम्झौता भएको थियो। तर उनले करिब आठ महिनामै पदबाट राजीनामा दिएका हुन्।
रसको प्रशिक्षणमा नेपाली टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो— जसमा नेपालले एक खेलमा जित, दुई खेल बराबरी र चार खेलमा हार ब्यहोरेको थियो।
उनको नेतृत्वमा नेपालले पहिलो खेलमै सिङ्गापुरलाई पराजित गरेको थियो।

