काठमाडौं —आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी त्रिदेशीय एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।
शृङ्खलामा अहिलेसम्म निराशाजनक प्रदर्शन गर्दै आएको नेपालका लागि यो खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले र तेस्रो खेलमा पुनः अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।
त्रिदेशीय शृङ्खलामा अमेरिका अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ। अमेरिकाले २४ खेलमा ३६ अंक जोडेको छ भने आयोजक युएईले १९ खेलमा जम्मा ८ अंक मात्रै हासिल गरेको छ। समान खेल खेलेको नेपालको अंक १२ छ।
लगातार हारपछि दबाबमा परेको नेपाली टोलीका लागि आजको खेल अंक जोड्ने र आत्मविश्वास पुनःस्थापना गर्ने मौका हो। युएईका लागि पनि घरेलु मैदानमा जित निकाल्दै लिगमा सुधार गर्ने अवसर रहेको छ।
कप्तान रोहित पौडेलले अन्तिम खेलमा टिम सुधारिएको र आक्रामक खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘अघिल्ला खेलमा कमजोरी देखिएका थिए, अब सबैले जिम्मेवारीका साथ खेलेर सकारात्मक परिणाम ल्याउने प्रयास गर्नेछौं।’

