काठमाडौं —नेकपा (माओवादी केन्द्र) सहित नौ वामपन्थी दलबीच आज ऐतिहासिक एकता घोषणा हुने कार्यक्रम रहेको छ। संयुक्त पार्टी घोषणा कार्यक्रम आज (बुधबारबार) १ बजे काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।
घोषणा पश्चात् एकीकृत दल निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ।
स्रोतका अनुसार नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने सहमति भएको छ। त्यसको चुनाव चिह्न पाँच कुने तारा तय गरिएको छ। पार्टीको संयोजकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रहने छन्।
एकीकृत हुने दलहरूमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपाल छन्।
एकता घोषणापछि नेताहरूले ‘वाम पुनर्संयोजन र समाजवादको दिशातर्फको साझा अभियान’ शीर्षकको राजनीतिक घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन्। एकता प्रक्रियालाई आगामी निर्वाचनका लागि निर्णायक मोडको रुपमा हेरिएको छ।
नेता दाहाल र नेपाल दुवैले वाम एकता नयाँ विकल्पको रुपमा प्रस्तुत हुने र देशलाई स्थायित्व, समृद्धि र समाजवादको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यता, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, सचिव राम कार्की (पार्थ क्षेत्री), पोलिटव्यूरो सदस्य अञ्जना बिसंखे लगायतले भने एकता प्रकृयाप्रति असन्तुष्टी जनाउँदै प्रगतिशिल अभियान नेपाल नामक अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । ऐतिहासिक एकताको समय भएको यस कार्यलाई पार्टी फुटको संज्ञा समेत दिएका छन् ।
यो फुटको अर्थ लामो समयसम्म नरहने राजनीतिक विश्लेषकहरूको दावी छ ।

